नेकपाका गतिविधि निस्तेज पार्न सुरक्षा व्यवस्था कडा

धनकुटा। प्रदेश १ का ६ जिल्लाको सुरक्षा समितिको बैठकले प्रतिबन्धित विप्लव समूहको गतिविधि निस्तेज पार्न सुरक्षा व्यवस्थामा कडाई बनाइने निर्णय गरेको छ। शुक्रबार पाख्रिवासि कृषि अनुसन्धान केन्द्रमा सम्पन्न बैठकले पूर्वीक्षेत्रमा विप्लव समूहको गतिविधि निस्तेज पार्ने सुरक्षा रणनीति तयार गरेको हो।

सुरक्षा बैठकमा धनकुटासहित तेह्रथुम, संखुवासभा, भोजपूर, सुनसरी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका पृतना एवं बाहिनीलगायत जिल्लास्थित गुल्मगण प्रमुख, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालका क्षेत्रीय एवं जिल्लास्थित प्रमुखको सहभागी थियो ।

बैठकमा सबै जिल्लाको सुरक्षा अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्लामा प्रतिबन्धित समूहको कार्य पूर्ण निस्तेज बनाउँदै सामाजिक कार्यमा सुरक्षा निकायको उपस्थिति बढाउने, लागुऔषध नियन्त्रण, सडक अवरोध र दुर्घटना न्यूनिकरण, भ्रष्टाचार नियन्त्रण गर्दै शुसासन कायम गर्ने निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले बताए।


ताजा समाचार