१२२ चिनियाँ नागरिक डिपोर्ट गरियो

काठमाडौँ। नेपाललाई आश्रयस्थल बनाएर चीनमा अपराध गरेको आरोपमा पक्राउ गरेका १ सय २२ चिनियाँलाई बुधबार साँझ डिपोर्ट गरिएको छ। चाइना इस्टर्न र चाइना साउद्रन एयरलाइन्सका दुई चार्टर्ड विमानमार्फत् उनीहरुलाई चीन डिपोर्ट गरिएको हो।

चिनियाँ दूतावासले अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण र गृहमन्त्रालयलाई पत्राचार गर्दै १ सय २२ चिनियाँलाई लैजाने उल्लेख गरेपछि दुइवटा चार्टर्ड विमान ल्याइएको थियो। सोही अनुसार बुधबार साँझ उनीहरुलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको नेतृत्वमा पुस ७ गते काठमाडौं उपत्यकाका मनमैंजु, बुढानिलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये ६७ जनाको मात्रै राहदानी फेला परेको थियो। उनीहरूका साथबाट प्रहरीले ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो।

पक्राउ परेका चिनियाँविरुद्ध नेपाल प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन र १० दिन गरी दुई पटक म्याद थप गरेकोमा गत आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जनही १ हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

त्यसपछि प्रहरीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो। चीनकै आग्रहमा पक्राउ परेका उनीहरुलाई अध्यागमनमार्फत् बुधबार डिपोर्ट गरिएको हो।

पक्राउ परेका चिनियाँमाथि नेपाललाई आश्रयस्थल बनाएर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइनमा अश्लील सामग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काममा संलग्न भएको आरोप छ ।


ताजा समाचार