जर्ज मुन्सेको शतकमा नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता

काठमाडौं। स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ।

त्रिवि मैदान कीर्तिपुरमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बनेको हो ।

७ देश सम्मिलित लिग टुमा यो जितसँगै स्कटल्याण्डको ४८ अंक भएको छ । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित दोश्रो स्थानमा छ।

स्कटल्याण्डसँग पराजित नामिबियाको भने ३२ खेलबाट ३७ अंक छ र उ तेस्रो स्थानमा छ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले जर्ज मुन्सेको सानदार शतकमा बिना विकेट भेट्टायो । मुन्सेले ६१ बलमा १०३ रनको अविजित पारी खेले । उनले १२ चौका र ७ छक्का प्रहार गरे ।

अर्का ओपनर काइल कोजरले ७२ बलमा ४६ रन बनाए । उनीहरुले १५४ रनको अविजित साझेदारी गर्दै स्कटल्यान्डलाई जिताएका हुन्।

यसअघि, टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डले कसिलो बलिङ गर्र्दै ३९.२ ओभरमा १५३ रनमा नामिबियालाई अलआउट गरेको थियो । नामिबियाका लागि ओपनर ब्याटर लो हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाए । उनी एक मात्रै ब्याटर थिए, जसले नामिबियाका लागि टिकेर खेलेका थिए । लोरेन्सले ८८ बल खेल्दै ५ चौका प्रहार गरे ।

अर्का ओपनर कार्ल ब्रेकनस्टोक ४ रनमा स्टम्पिङ भए। जेन ग्रिनले २५ रन बनाए। कप्तान ग्रहार्ड इरास्मस गोल्डेन डक भए। पिक्की या फ्रान्सले ११ रन र बर्नाड स्कोल्ट्जले ३९ बलमा ३० रन बनाए । बेन शिकोन्गो १ रनमा अविजित रहे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभर बलिङ गर्दै ४ विकेट लिए । साफ्यान शारिफ र मार्क वाटले समान ३–३ विकेट लिएका थिए ।


ताजा समाचार