भारतीय राजदूतावासले मनायो २१औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौँ। भारतीय राजदूतावासले २१औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ।

शनिवार काठमाडौँमा रहेको भारतीय दूतावासमा एक कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको हो । कार्यक्रममा गएका वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थी लगायत २५० भन्दा बढी अतिथिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालय (विज्ञान तथा प्रविधि) का सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी तथा नेपालका प्रमुख विश्वविद्यालयका उपकुलपति उपस्थिति थिए।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी पनि उपस्थित थियो। नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न कलेजका डिन तथा विभिन्न प्रतिष्ठित विद्यालयका प्रधानाध्यापकको पनि कार्यक्रममा उपस्थिति थियो ।

मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २१औँ ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आगामी वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दारविद्यार्थीहरूलाई विभिन्न विधामा भारतीय दूतावासको विशेष रोल अफ अनर प्रदान गर्ने घोषणा गरे । भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो ।

यो योजनाको शुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति सङ्ख्या थपेर १०० पुर्‍याइएको थियो । सन् २०१२ देखि छात्रवृत्तिको सङ्ख्या दोब्बर बढेर २०० पुगेको छ । यस योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका ३ हजार जना विद्यार्थी लाभान्वित भइसकेका छन् ।


ताजा समाचार