‘मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ’

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको कार्यक्रममा उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए ।

‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौं । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ’, उनले भने ।

पायो भन्दैमा जहाँतहींबाट ऋण लिन नहुने बताउँदै अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए ।

‘अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरें थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनुहुँदैन । मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ’ ओलीले भने, ‘मिटरब्याजमा पैसा लिएपछि दिनेले असुल गर्ने प्रयास त गर्ने नै भयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैं पनि सचेत हुनुपर्छ ।’

अध्यक्ष ओलीले फागुन १ गते बिदा दिने सरकारको निर्णयको पनि आलोचना गरे । उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहने गरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताए ।


ताजा समाचार