अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै

काठमाडौँ। अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३ औँ वार्षिकोत्सव मनाइँदै छ ।

आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको बललाई जित्दै अन्तरिक्षमा नियन्त्रित उडान भर्ने महान् लक्ष्य पूरा गरेका थिए ।

यसरी पृथ्वी नजिकको कक्षमा मानवसहितको योग्य उडानको एक भव्य प्रक्रियाको प्रारम्भ भई हाम्रा पुर्खाको सपनाले एउटा साकार रूप प्राप्त भएको थियो ।

गागरिनका अतिरिक्त अन्तरिक्ष अन्वेषणका क्षेत्रमा पहिलो नाम दर्ज गराउनेमा रुसी कस्मोनाट एलेक्सी लियोनोभ (जसले पहिलो स्पेसवाक सम्पन्न गरेका थिए), भ्यालेन्टिना तेरेस्कोभा (पहिलो महिला अन्तरिक्ष यात्री)र अन्य सोभियत र रुसी अन्तरिक्ष अन्वेषकले पृथ्वी नजिकको कक्षमा उडानको अवधि र जटिलताका लागि विश्व अभिलेख कायम गरेका छन् ।

अहिलेसम्म ३८ देशका करिब छ सय व्यक्ति अन्तरिक्षमा पुगिसकेको यहाँस्थित रुसी महासङ्घको राजदूतावासले जनाएको छ । हजारौँ वैज्ञानिक प्रयोग सम्पन्न गरिसकिएको छ, अन्तरिक्ष स्टेसन र टेलिस्कोप पृथ्वी नजिकको कक्षमा राखिएको छ । लगभग पाँच हजार कृत्रिम पृथ्वी उपग्रह ग्रहको सतहबाट विभिन्न दूरीमा अन्तरिक्षमा काम गर्छन् । अन्तरिक्ष उडानको तयारी र क्रममा दुई सय २८ जनाको मृत्यु भएको बताइएको छ ।

तत्कालीन सोभियत सङ्घ र त्यसपछि रुसी सङ्घ, धेरै अन्तरिक्ष कार्यक्रमको प्रारम्भकर्ता बन्यो र सधैँ त्यस्ता कार्यक्रमको विशेष शान्तिपूर्ण प्रकृतिको वकालत गर्दै आएको छ ।

विश्वका धेरै देशले विभिन्न अन्तरिक्ष अन्वेषणमा भाग लिइरहेका छन् र यस क्षेत्रमा हुने गरेको अन्तर्राष्ट्रिय सहयोगले साँच्चै ब्रह्माण्डीयस्तर हासिल गरेको राजदूतावासको विज्ञप्तिमा जनाइएको छ ।


ताजा समाचार