डिएसपी सुवेदीको विदाई, भट्टको स्वागत र शीलाई सम्मान
काठमाडौँ। महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट सरुवा भई जान लागेका डिएसपी लालध्वज सुवेदीको बिदाइ र वृत्तमा आएका डिएसपी निरञ्जनदत्त भट्टको स्वागत गरिएको छ।
यसै अवसरमा बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक प्रहरीले सम्मान गरेको छ। नेपालमा रहेका बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी स्वयम्भूले सम्मान गरेको छ। लकडाउनका बेला बोधिसत्व विहारले स्वयम्भू क्षेत्रमा गरेको समाजसेवाको कदरस्वरूप विहारका मुख्य सञ्चालक शीलाई सम्मान गरिएको हो।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट सरुवा भई जान लागेका डिएसपी लालध्वज सुवेदीको बिदाइ र वृत्तमा आएका डिएसपी निरञ्जनदत्त भट्टको स्वागतका लागि आज आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष अमित पाण्डेसँगै डिएसपीद्वय सुवेदी र भट्टले शीलाई खादा ओडाएर सम्मान गरेका हुन्। कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार राजु खरेल, विहारसम्बद्ध समाजसेवी शान्त शर्मा, समाजसेवी पत्रकार शिव अधिकारी अविरल लगायतको उपस्थिति थियो। बोधिसत्व विहार प्राणी सेवामा समर्पित बौद्ध धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय संस्था हो।
ताइवानी नागरिक शी यसका मूल सञ्चालक हुन्। लकडाउनअघि नेपाल आएका शी लकडाउनका कारण यतै अड्किएका छन् । उनको नेपाल बसाइँले विहार मार्फत हुने मानवसेवाका कार्यक्रमलाई सक्रिए बनाईएको छ । कोरोना महामारीबीच जारी लकडाउनयता विहारले स्वयम्भू आसपासका क्षेत्रमा मात्रै २५ हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको छ।
राजधानीभर एक लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको विहारले शिशुलाई ल्याक्टोजिन, बालक र वृद्धलाई सर्वोत्तम पिठोको लिटो र सुत्केरीलाई जडीबुटीजन्य औषधीसमेत बाँडिरहेको छ। मानव मात्र नभई सिङ्गो प्राणीजगतको सेवाको लक्ष्य राख्ने विहारले धार्मिक क्षेत्रमा आवागमन बन्द भएसँगै भोको पर्न थालेका स्वयम्भू क्षेत्रका बाँदरहरूलाई हरेक दिन चना खुवाइरहेको छ।
विहारले देशभरका विभिन्न अस्पताल, सुरक्षा निकाय, राजधानी छिर्ने सबै नाकाका चेकपोस्ट र केन्द्रीय कारागारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री सहयोग गरेको छ। यसैबीच, विहारले जोखिम क्षेत्रमा सूचना संकलनमा खटिने २०० भन्दा बढी पत्रकारलाई पिपिई, प्रेस ज्याकेट, मास्क, ग्लब्स, स्यानिटाइजर उपलब्ध गराईसकेको छ।
तस्बिर: मुकुन्द कालिकोटे