कुवेतले साफ च्याम्पियनसिप खेल्ने

काठमाडौँ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को अयोजनामा सन्चालन हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा पहिलोपल्ट साफ बाहिरको टिमलाई समावेश गरिने भएको छ।

साफले यस संस्करणमा कुवेतको सहभागिता निश्चित भएको बुधबार औपचारिक जानकारी दिएको छ। भारतको बैंगलुरुमा ६–१८ असारसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागी हुने कुवेत सातौं देश हुनेछ।

यसअघि साफ सदस्यहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र मााल्दिभ्सको सहभागिता निश्चित भइसकेको थियो। श्रीलंका फुटबल संघलाई फिफाले प्रतिबन्ध लगाएका कारण उसको टिमले यसपल्टको साफ गुमाउनेछ।

दक्षिण एसियाली देशहरुबीभको प्रतियोगितामा प्रतिस्पर्धास्तर बढाउन भन्दै आमन्त्रित टिमहरुलाई सहभागिता गराउने नीति साफले लिएको छ। यसअघि गत महिना सम्पन्न यू–१७ महिला साफमा रुशलाई आमन्त्रित टिमका रुपमा सहभागी गराइएको थियो।

साफ च्याम्यिनसिपमा नेपाल साविक उपविजेता हो। डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल टिम भारतसँग ३–० ले पराजित भएको थियो। सन् १९८४ देखि सुरु भएको साफ इतिहासमा नेपाल फाइनलमा पुगेको पहिलोपल्ट हो।


ताजा समाचार