परीक्षा हलबाट निकालेपछि विद्यार्थीले गरिन् आत्महत्या

काठमाडौँ। चितवन मेडिकल कलेज बीडीएस चौथो वर्षमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन्।

बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि आफ्नो कोठामा गएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए। त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएकी थिइन्। त्यही झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ। साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्नसमेत माग गरेको छ।

राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भामले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने जस्ता मानसिक यातना दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्नुपर्नेमा बताए ।

विद्यार्थीहरूलाई परीक्षामा फेल गराइदिने धम्कीसमेत दिने गरेको भन्दै यस्तो कार्य पूर्ण रूपमा रोकिनुपर्ने कमिटीको माग छ। ‘कसैको इगो भन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूको जीवन हो। यसको रक्षा गरिनुपर्छ। अध्यक्ष भामले भने। थापाको आत्महत्यापछि चिकित्सा शिक्षा सङ्घर्ष अभियानले समेत विरोध जनाएको छ। अभियानले विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको बताएको छ। उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न अभियानले माग गरेको छ।

विद्यार्थीमाथि हुने शारीरिक र मानसिक यातनाका विरुद्धमा विगतदेखि नै आवाज उठाउँदै आएको तर, त्यस्ता घटना बारम्बार दोहोरिने गरेको अभियानको ठहर छ । घटनालाई भित्र भित्रै लुकाउन खोज्ने, गलत व्यक्तिलाई ढाकछोप गर्ने, पीडित परिवार र विद्यार्थीलाई धम्की दिने र घटनाको छानबिन प्रक्रियामा चलखेल गर्ने जस्ता कार्य भइरहेको भन्दै अभियानले आपत्ति जनाएको हो।


ताजा समाचार