एमसीसी पास भएपछि नेपालमा अमेरिकी सेना बाक्लियो: झलनाथ खनाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति जनाएका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम ‘एसपीपी’ पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको उनको दाबी छ।

काठमाडौंमा बुधवार ३१औं मदन(आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन्।’

पूर्वप्रधानमन्त्री खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए।

‘के स्वार्थ छ? यसमा नेपालीले बुझ्नुपर्छ। हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन्? के स्वार्थ छ?’ उनले थपे, ‘नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन्? हामी अब यसको सामना गर्नपर्छ।’

अर्को फरक प्रशंगमा उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताएका छन्। उनले यो प्रकरणको निष्पक्षरुपमा छानबिन गरी टुंगोमा पुर्‍याउनु पर्ने बताए।


ताजा समाचार