सांसद गौतमलाई अनसन तोड्न मन्त्री ज्वालाको आग्रह

काठमाडौँ। बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल भत्किएपछि सरकारले नयाँ टेन्डर प्रक्रिया थाल्ने भएको छ। पुरानै ठाउँमा भने पुल नबन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए।

मन्त्रालयमा बुधबार पत्रकार सम्मेलनको आयोजनामा मन्त्री ज्वालाले भने,‘ भत्किएको पुलका सम्बन्धमा अदालतमा मुद्दा चलिरहेको छ। अख्तियारले पनि अनुसन्धान सकाएर विशेषमा मुद्दा चलाइसकेको अवस्था छ। अब नयाँ कहाँ र कसरी बनाउने भनेर ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा छौं।’ उनले यसका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता गरिदिन आफूले पहल थालिसकेको बताए।

मन्त्रालयले अहिले भत्किएको पुलको संरचना हटाउन थालिसकेको छ। दुईवटा एक्जाभेटर लगेर संरचना हटाउन थालिएको जानकारी मन्त्री ज्वालाले दिए। उनले भने, ‘कसरी भत्कियो त्यो पुरानो कुरा भइसक्यो। तर, भत्किएका पुलका संरचना नहटाउँदा त्यसले फेरि अर्को विनाश गर्नसक्ने देखिएपछि हटाउन सुरु गरिसकेका छौं।’

यसअघि २०७४ साउन २८ गते बबई नदिमा आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए । उक्त पुलको ठेक्का पप्पु कन्ट्रक्सनले पाएको थियो।

पुल निर्माण लगायत माग राखेर नेपाली कांग्रेसका संघीय सांसद सञ्जय गौतम आमरण अनशनमा बसेका छन्। मन्त्री ज्वालाले गौतमलाई अनशन ताड्न आग्रह गरेका छन् । उनले भने, ‘तपाँईको माग जायज छन्। मेरो मन्त्रालय अन्तर्गत पर्ने जिम्मेवारीमा म दृढ छु । अनशन तोडेर भत्किएका संरचना हटाउन सहयोग गरिदिनोस् ।’ भत्किएको पुलका स्ल्याब र पिलरका कारणले बबई नदीको धार परिवर्तन भएर अन्य क्षेत्रमा समेत खतरा निम्तने देखिएपछि संरचाना हटाउनुपर्ने भएकाले त्यसक्षेत्रमा अनसन तोड्न मन्त्री ज्वालाले गौतमलाई आग्रह गरेका हुन् ।

उनले नयाँ पुल मर्मतमा प्राविधिक समस्या देखिएकाले नयाँ ठाउँमा पुल बनाउन टेन्डर गर्ने तयार मन्त्रालयको रहेको बताए । उनले भने,‘ पुरानो पुल भएकै ठाउँमा अर्को टेन्डर गरे भनेर फेरि विरोध आउनसक्छ । सायद पाँच सय मिटर माथि गएर अर्को पुल बनाउन टेन्डर गर्ने सहमति भएको छ ।’


ताजा समाचार