फुकोट कर्णाली जलविद्युतमा भारतको चासो

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे छलफल हुने भएको छ।

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा रहेको सो आयोजना निर्माणको जिम्मा भारतलाई दिने लगभग तय भइसकेको छ, त्यसको औपचारिक सम्झौता प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा हुने बताइएको छ। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय स्रोतका अनुसार सम्झौताको मस्यौदा लगभग तयार भइसकेको छ। भारतमा दुई देशको प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता हुने मन्त्रालयको भनाइ छ।

४८० मेगावाटको सो आयोजनाका लागि भारतले सुरुदेखि नै चासो लिँदै आइरहेका थिए। २०७९ फागुन ६ गते भारतमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णाली जलविद्युत आयोजनामा भारतीय लगानी ल्याउने सहमति भएको बताइएको छ। तर, सो सहमतिलाई दुवै देशले गोप्य राखेको छ। बैठकपछि जारी गरेको संयुक्त विज्ञप्तिमा फुकोट कर्णाली आयोजनाको बारेमा केही उल्लेख गरिएको छैन।

सो आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इन्डिया लिमिटेडले लगानी गर्ने त्यो पनि लगभग निश्चित भइसकेको मन्त्रालय स्रोतले जनाएको छ।

२०७८ चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको बेला नै फुकोट कर्णाली जलविद्युत आयोजनाको बारेमा सम्झौता हुने कुराकानी चलेको थियो तर तयारी नपुगेको कारण त्यतिबेला सम्झौता हुन सकेको थिएन। तर सो आयोजना नेपाल र भारतका दुवै कम्पनीले मिलेर बनाउने मौखिक सहमति भएको थियो।

नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् उत्पादन कम्पनीसँग मिलेर एनएचपीसीले आयोजनामा लगानी गर्ने बताइएको छ। तयार भएको मस्यौदा अनुसार सम्झौतापत्रमा हस्ताक्षर भयो भने नेपालको विद्युत् उत्पादन कम्पनी र भारतको एनएचपीसी कम्पनी मिलेर छुट्टै कम्पनी खडा गर्ने र त्यसैमार्फत आयोजनाको निर्माण काम गर्नेछ।

प्रारम्भिक मस्यौदाअनुसार नेपालको विद्युत् उत्पादन कम्पनीको ४९ प्रतिशत र भारतको एनएचपीसीको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ तर यसमा अझै छलफल चलिरहेको मन्त्रालय स्रोतले जनाएको छ। आयोजनाबाट नेपालले मासिक रुपमा २१।९ प्रतिशत निःशुल्क विद्युत् पाउने पनि प्रारम्भिक मस्यौदामा उल्लेख रहेको स्रोतले जनाएको छ। यो सँगै भारतले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा पनि चासो बढाएको छ।


ताजा समाचार