प्रचण्डको भारत भ्रमण तयारी, विदेशमन्त्री भेट्न पुगे नेपाली राजदूत
काठमाडौँ। भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ।
शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए। सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन्। आगामी दिनमा यसलाई थप विस्तार गर्न दुबै पक्ष सकारात्मक बनेका छन्।
‘आज बिहान नेपालका राजदूत डा शंकर शर्मालाई पाउँदा खुसी लाग्यो। हाबीबीच गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्ध छौँ’, जयशंकरले ट्वीटरमार्फत भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै भारत भ्रमण गर्न लागेको बेला राजदूत भारतीय विदेश सचिव भेट्न पुगेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन बाँकी छ।