यात्रु बोकेर सांघाईबाट बेइजिङ उड्यो चीनले बनाएको सी९१९ जहाज

चीनले बनाएको सी९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ।

आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

सी९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो। यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो।

यो जहाज बनाउने प्रक्रिया सन् २००९ मा थालनी भएको हो। यसबीचमा जहाज निर्माताले जहाज बनाउनेदेखि परीक्षण उडान गर्नेदेखिका काम पूरा गरेका थिए।

सन् २०१७ मा यो जहाजको पहिलो परीक्षण उडान गरिएको थियो।

चाइना इस्टर्न एयरलाइन्सले चीनमै बनेको उक्त जहाज व्यावसायिक उडानका लागि किनेको थियो। निर्माताले गत डिसेम्बरमा जहाज एयरलाइन्सलाई दिएका थिए।

कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाका उपाध्यक्ष झाङ युजिनका अनुसार अहिले यो मोडलका १२ सय जहाज किन्न अर्डर आइसकेको छ।

३८.९ मिटर लामो उक्त जहाज ११.९५ मिटर अग्लो छ। जहाजको नाममा भएको सीको अर्थ चाइना हो भने ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो।

 


ताजा समाचार