२०१५ यता कुनै पनि आईपीएल फाइनल हारेका छैनन् हार्दिक

एजेन्सी। आईपीएल २०२३ को फाइनल खेल आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । टस त्यसको आधा घण्टा अगाडि अर्थात् साँझ सवा ७ बजे हुनेछ ।

एकातिर हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरात बलियो टोलीको रूपमा उभिएको छ भने अर्कोतर्फ आईपीएल फाइनल खेल्ने धेरै अनुभव भएका महेन्द्र सिंह धोनी छन्, जसले त्यो दबाबलाई कसरी सम्हाल्ने भनेर जान्दछन् । यस्तो अवस्थामा उपाधिका लागि दुई टोलीबीच कडा प्रतिस्पर्धा हुनसक्छ ।

गुजरातको टोलीले पहिलो पटक आईपीएल २०२२ मा खेलेको थियो र यसको पहिलो सिजनमा हार्दिकको नेतृत्वमा टोली च्याम्पियन बनेको थियो । अर्थात् आईपीएलको फाइनल जित्ने उसको शतप्रतिशत रेकर्ड छ । हार्दिकले गत सिजन युवा टोलीमा जीवन भरेका थिए र यो सिजन पनि उनले त्यसको फाइदा उठाएका छन् । जसका कारण फेरि एकपटक गुजरातको टोली फाइनलमा पुगेको छ । अघिल्लो पटक जस्तै गुजरात यस सिजन पनि २० अंकसहित लिग राउण्डमा अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।

गुजरातसँग शुभमन गिल र ऋद्धिमान साहाजस्ता खेलाडीहरू छन् जसले आवश्यक पर्दा टोलीलाई जित दिलाउन सक्छन् । सन् २०१४ को आईपीएल फाइनलमा साहाको शतक कसले बिर्सन सक्छ र । यसबाहेक क्याप्टेन हार्दिक पाण्ड्या आफैं गुजरातका एक्स–फ्याक्टर हुन् । हार्दिकले सन् २०१५ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यू गरेका थिए । त्यसयता उनले आईपीएलको फाइनलमा हारेका छैनन् ।

मुम्बई सन् २०१५ मा च्याम्पियन बनेको थियो । यसपछि २०१७, २०१९ र २०२० मा पनि मुम्बई फाइनलमा पुगेर उपाधि जित्न सफल रह्यो । २०२२ मा हार्दिक गुजरात टीममा सामेल भए । त्यसपछि पनि गुजरातको टोली फाइनलमा पुग्यो र उपाधि जित्यो । यस्तो अवस्थामा हार्दिकले फेरि एकपटक आफ्नो टोलीलाई च्याम्पियन बनाउने प्रयास गर्नेछन् र आफ्नो रेकर्ड कायम राख्न चाहन्छन् ।

यी दुईबीच अहमदाबादमा एक खेल भएको छ । यस सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई आफ्नो घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो । यसबाहेक अहमदाबादमा शुभमन गिलको कीर्तिमान ठूलो छ । उनले यस मैदानमा ११ टी–२० इनिङ्समा ७८।३७ को औसत र १५५।५८ को स्ट्राइक रेटमा ६२७ रन बनाएका छन् । जसमा तीन अर्धशतक र दुई शतक सामेल छन् । अहमदाबादमा भएको टी–२० मा १२६ रन उनको उत्कृष्ट स्कोर हो ।


ताजा समाचार