मुद्दा फैसला नहुँदा सन्दीप अफ्रिका जाने अनिश्चित, प्रशिक्षणबाट लिए बिदा
काठमाडौँ। लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ। जिल्ला अदालत काठमाडौंमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ।
गत साता मात्रै न्यायाधीशले यसअघि मगाएकै कागजात मगाएर अन्तिम फैसला टारेका थिए। अन्तिम फैसलाकै लागि त्यसअघि एउटा पक्षको बहस नै सकिन लागेको थियो। ५ जना वकिलको बहस सुनेर न्यायाधीशले मुद्दा हेर्दा हेर्दैमा राखेनन्। बरु पुनः अर्को पेसी तोकियो। अर्को पेसीमा पनि न्यायाधीशले पहिल्यै मगाइसकेको र अदालतमा आइसकेको कागजात पुनः मगाउने आदेश गरे, अन्तिम फैसला भएन।
राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन्। नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए।
खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका हुन्। सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको बताउने गरेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।
हरेक कुरा उनीसँगै सल्लाह गर्नु पर्ने भएकाले सन्दीपले समय दिन नसकेको हुनसक्ने उनले बताए।
‘एकातिर खेल, अर्कोतिर मुद्दा चलिरहेको हुन्छ। त्यस्तो बेला उसको मानसिकता कसतो होलारु हामी अदालतलाई सफाइ दिनुपर्छ भनिरहेका छैनौं। यदि दोषी ठहर हुन्छ भने जेल पठाइदिए भयो, निर्दोष ठहर भए ढुक्कले खेल्छ,’ अधिवक्ता घिमिरेले भने, ‘यस्तो अन्यौलले सन्दीप र जाहेरवाला दुवैलाई फाइदा गर्दैन।’
सन्दीप लामिछानेको मुद्दामा फैसलाका लागि भन्दै १४ पटक पेसी तोकिएको छ। तर फैसला हुन सकेको छैन।
कहिले के भयो ?
२०७९ कात्तिक १५–१८
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको थियो। त्यसैदिनबाट यो मुद्दाको सुनुवाइ सुरु भयो। प्रतिवादी लामिछानेको बयान गराएर अदालतमा थुनछेक बहस सुरु भएको थियो। ४ दिनको निरन्तर सुनुवाइपछि कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। त्यसैदिन सन्दीपलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको थियो।
२०७९ मंसिर ७–१४ गतेसम्म
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो। यो मुद्दामा जोडिएका व्यक्तिहरुको बकपत्र न्यायाधीश राईको इजलासमा गराइएको थियो। मंसिर ७ गतेदेखि निरन्तर हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा मंसिर १४ गते न्यायाधीश राईले बयानरबकपत्र गराइएको आदेश गरे।
२०७९ पुस १२
न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश बेल्बासेले प्रमाण बुझ्ने आदेश दिएका थिए। जसमा जाहेरवाला किशोरीको उमेरका विषयमा प्रतिवादीका कानुन व्यवसायीले सुरुबाटै प्रश्न उठाएका थिए। किशोरी नाबालिग नरहेको दाबी सन्दीप पक्षको थियो। यसका विषयमा प्रमाण बुझ्न न्यायाधीश बेल्बासेको इजलासले आदेश दिएको थियो।
२०७९ पुस २५
न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको थियो। पराजुलीको इजलासले बकपत्र गराउँन बाँकी रहेका साक्षीको बकपत्र गराएको थियो।
२०७९ माघ ९
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले सुनुवाइ स्थगित गर्न निवेदन दियो। जुन निवेदनका कारण त्यसदिन सुनुवाइ हुन सकेन।
२०७९ माघ २३
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेसी तोकिएको थियो। तर अघिल्लो पटकजस्तै यसपटक पनि जिल्ला सरकारी वकिल कार्यालयकै कारण सुनुवाइ हुन सकेन। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सुनुवाइ स्थगित गर्न निवेदन दिएको थियो।
२०७९ फागुन ८
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको थियो। तर यसपटक भने न्यायाधीशका कारण मुद्दाको सुनुवाइ हुन सकेन। न्यायाधीश पराजुली बिदामा बस्दा इजलास नै बस्न सकेन।
२०७९ फागुन २९
न्यायाधीश दीपक ढकालको इजलासमा पेसी तोकिएको थियो। तर सन्दीप लामिछानेका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। जस कारण सुनुवाइ स्थगित भयो।
२०७९ चैत १३
सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा पेसी तोकिएको थियो। जसकारण सुनुवाइ हुन सकेन। सन्दीपका कानुन व्यवसायीले पहिले थुनामा पठाउने न्यायाधीशकै इजलासमा पेसी तोकिएपछि निवेदन दिएर सुनुवाइ स्थगित गराए।
२०७९ चैत २२
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पनि अन्तिम फैसला गर्न सकेन। त्यो दिन यो इजलासमा उक्त मुद्दाको पालो नै आएन। हेर्न नभ्याइएकोमा गयो।
२०७९ चैत २६
न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो। जुन दिन सुनुवाइको पालो आएपछि जाहेरवालाका कानुन व्यवसायीले केही साक्षीको बकपत्र गराउन बाँकी रहेको कुरा उठाए। किशोरीको स्वास्थ्य जाँच गराउने चिकित्सक र दुई क्रिकेटरको बकपत्र गराउन बाँकी थियो। इजालसले उनीहरुको पनि बकपत्र गराउन आदेश दिएको थियो।
२०८० वैशाख ६
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। स्वास्थ्य जाँच गराउने डाक्टर र अन्य दुई जनाको पनि बकपत्र गराइएको थियो।
२०८० वैशाख ११
न्यायाधीश दीपक ढकालको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। यसपटक सुनुवाइका लागि दुवै पक्ष तयार थिए। जाहेरवालाको तर्फबाट निजी र सरकारी वकिल गरी ५ जनाले बहस गरेका थिए। तर एक पक्षको बहस सकिन लागेको मुद्दा न्यायाधीश ढकालले हेर्दाहेर्दैमा राखेनन्। उनले त्यसदिन हेर्न नभ्याइएको जनाउँदै मुद्दाको पेसी पुनः तोक्न आदेश दिए।
२०८० जेठ ७
यो दिन न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको पेसी तोकिएको थियो। चौथो नम्बरमा रहेको मुद्दाको सुनुवाइको पनि पालो आयो। तर न्यायाधीश पराजुलीले पनि मुद्दाको फैसला गरेनन्। यसअघि किशोरीको जन्मदर्ता गरिएको वडा कार्यालय र किशोरी जन्मिएको अस्पतालबाट आएका जन्म मिति खुल्ने कागजात स्पष्ट नभएको भन्दै पुनः मगाउन आदेश दिए।
जिल्ला अदालत काठमाडौंको आदेश अनुसार किशोरीको जन्म भएको पर्साको नारायणी अस्पताल र नुवाकोटको एक वडा कार्यालयले जन्मदर्ताको प्रमाण उपलब्ध गराइसकेका छन्। गत बुधबार दुवै कार्यालयबाट कागजात प्राप्त भएको हो। अब मंगलबार मुद्दाको फैसलाका लागि पेसी तोकिएको छ। मंगलबार पनि अन्तिम सुनुवाइ नभए सन्दीप आगामी खेलमा उपस्थिति अनिश्चित हुने भएको छ।
अन्तिम टोलीमा परेका सन्दीप जाने अनिश्चित
नेपाल क्रिकेट संघ ९क्यान०ले आगामी खेलका लागि सन्दीप लामिछानेलाई पनि समेट्दै नेपाली टोली घोषणा गरेको छ। मुद्दाको पेसी तोकिएकै भोलिपल्ट बुधबार नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गर्ने तय भइसकेको छ। त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने तय छ।
दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बावे प्रस्थान गर्ने छ। जिम्बावेमा नेपालले सुरुमा दुई अभ्यास खेल खेल्नेछ। यूएई र ओमानसँग यसैमहिना दुई अभ्यास खेलपछि नेपालको विश्वकप छनौट चरण सुरु हुनेछ।
विश्वकप छनौटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स छन्। विश्वकप छनौटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ। असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ। समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ। तर समूहको शीर्ष ३ मा अटाउन सके नेपालको जिम्बावे बसाइ लम्बिने छ।
मंगलबार मुद्दाको अन्तिम फैसला आए सन्दीप कि कारागार फर्किने छन् कि मैदान फर्किने छन्। तर मंगलबार पनि अन्तिम फैसला हुन नसके सन्दीपलाई कानुनी अप्ठेरो छ।
अर्को साता मुद्दाको पेसी तोकिन सक्छ। यस्तै सन्दीपको तारेख पनि पर्न सक्छ। साप्ताहिक तारेख बुझ्न सन्दीप ढिलोमा पनि २१ दिन भित्रमा अदालतमा उपस्थित हुनुपर्छ। यसले सन्दीप खेल बीचैमा छाडेर नेपाल फर्किने कि सुरुमै नजाने भन्ने दोधारमा छन्।
सन्दीपका वकिल घिमिरेले भने, ‘मंगलबार पेसी छ। अहिले हामी मंगलबार फैसला हुन्छ भनेर नै तयारी गरिरहेका छौं। तर कुनै कारण देखाएर मंगलबार पनि फैसला आउन सकेन भने सन्दीपको निर्णय यसै हुन्छ भन्ने भन्न सकिँदैन।’
सर्वोच्चको त्यो आदेश मानेन जिल्लाले
सर्वोच्च अदालतले नै यो मुद्दा चाँडो टुंग्याउन जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको थियो। सन्दीपलाई विदेश जान रोक लगाउने गरी उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तर सर्वोच्चले सन्दीपलाई विदेश जान पनि दिने आदेश गर्यो।
जिल्ला अदालतको आदेश पुस २८ गते उच्च अदालतले बदर गर्यो। उच्चको आदेश पनि सर्वोच्चले आंशिक बदर गर्दै विदेश जान छुट दिएको थियो।
सर्वोच्चले त्यो आदेशमा भनेको थियो, ‘हाल निज प्रतिवादीलाई तत्कालै क्रिकेटको विश्वकप छनौटको प्रतिस्पर्धामा जानु परेको भन्ने निवेदकको जिकिर रहेकोमा अब निज प्रतिवादी सन्दीप लामिछानेलाई विदेशमा सहभागी हुनुपर्ने विश्वकप क्रिकेट खेलमा विदेश जान दिनु दिलाउनू एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनू।’
तर सन्दीप विदेश जाने कुरामा सर्वोच्चले पनि सर्त राखेको थियो। नेपालको तर्फबाट सहभागी भई विदेशमा क्रिकेट खेल समाप्त भएको १५ दिनभित्रमा सम्बन्धित मुद्दा हेर्ने अदालतमा स्रेस्तेदार सामु उपस्थित हुनु पर्ने भनिएको थियो।
स्वदेश फर्किएको लिखित जानकारी पनि सन्दीपले दिनु पर्नेछ। अब सन्दीप मुद्दाको फैसला नभई विदेश जानु परेमा जिल्ला अदालत काठमाडौंमा समेत लिखित जानकारी दिनु पर्नेछ।
यस सर्तको उल्लंघन गरेमा उनलाई विदेश जान प्रतिबन्ध लाग्न सक्नेछ। सर्वोच्चले यो मुद्दा छिटो टुंग्याउन पनि भनेको थियो।
‘प्रस्तुत मुद्दा जवबजस्ती करणीको अभियोग जस्तो गम्भीर प्रकृतिको महिला विरुद्ध हिंसासँग जोडिएको विषय पनि रहेको र प्रस्तुत मुद्दा सार्वजनिक चासोको विषयसमेत भएकोले शीघ्र सुनुवाइ तथा निरन्तर सुनुवाइको प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी काठमाठौं जिल्ला अदालतलाई जानकारी दिई नियमानुसार गर्नू,’ आदेशमा भनिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले फास्ट ट्रयाकमा टुंग्याउन आदेश दिएको तीन महिना बित्दा पनि जिल्ला अदालतले फैसला गर्न सकेको छैन। सर्वोच्चले गत फागुन १५ गते यस्तो आदेश दिएको थियो। उक्त आदेश लगतै सन्दीप विश्वकप लिग २ का लागि यूएई प्रस्थान गरेका थिए।
त्यसपछि भने बुधबार दक्षिण अफ्रिका जाने तालिका छ। जुन सन्दीपका लागि भने अनिश्चित बनेको छ।