नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक

बिहीबार वेष्ट इन्डिजसँग पराकिलो अन्तरमा पराजित भएपनि नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावना भने बाँकी नै छ। चार पटकको विश्व विजेता वेष्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित भयो।

वेष्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपाल २३८ रनमा अलआउट भयो। अन्तिम २ बलअघि नै करण केसी क्याचआउट हुँदा नेपालले सबै विकेट गुमायो।

बलियो टोली वेष्ट इन्डिजलाई सुरुमा दबाबमा राखे पनि नेपाल १५ ओभरपछि निरिह बनेको थियो। १५ ओभरमा ३ विकेट गुमाएपछि वेष्ट इन्डिजका मध्यक्रमका ब्याटरले २१६ रनको साझेदारी गर्दा नेपालले कीर्तिमानी लक्ष्य पायो। नेपालले एक दिवशीयमा कुनै पनि राष्ट्रविरुद्ध पाएको यो सर्वाधिक लक्ष्य हो।

अन्तिम क्रममा थप ४ विकेट लिए पनि बलियो टोली वेष्ट इन्डिजलाई विशाल लक्ष्यबाट रोक्न सकेन। वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रनको विशाल योगफल तयार गर्यो।

जवाफी ब्याटिङ थालेको नेपाल भने सुरुबाट दबाबमा पर्यो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा ५ रनमै आउट भएपछि नेपालले लगातार विकेट गुमायो। आरिफले टिकेर खेल्दै अर्धसतक पूरा गरे पनि आवश्यक रन भने जोड्न सकेनन्।

आशिफ, रोहित, दीपेन्द्र, गुल्सन र करणले सम्मान जनक स्कोर बनाए। तर टोलीका लागि आवश्यक पर्दा क्रिजमा टिक्न भने सकेनन्। जस कारण महत्वपूर्ण खेलमा नेपाल पराकिलो अन्तरमा पराजित हुन पुग्यो।

नेपाल यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै २ अंक बटुलेको छ।

बिहीबारको नतिजासँगै नेपाल तालिकाको चौथो स्थानमा झरेको छ। तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्स समान २ अंक भए पनि रनरेटमा अगाडी छ। नेदरल्याण्ड्सले वेस्ट इन्डिजसँग पनि खेल्न बाँकी छ।

नेदरल्याण्ड्स पहिलो खेलमा जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो। अब नेदरल्यान्ड्सले तेस्रो खेलमा नेपालसँग खेल्ने छ। शनिबार हुने यो खेलमा नेदरल्याण्ड्स विजयी भएमा नेपालको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ।

तर यो खेलमा नेपाल विजयी भएमा र अन्तिम खेलमा नेदरल्याण्ड्स वेष्ट इन्डिजसँग पराजित भएमा नेपाल अन्तिम ६ मा पुग्ने छ।

जिम्बाब्वे र वेष्ट इन्डिजको भने अघिल्लो चरण यात्रा बलियो बनेको छ। यी दुवै टोलीले खेलेका दुवै खेलमा विजयी भएका छन्। यी दुई टोलीबीचको खेल बाँकी छ भने जिम्बाब्वेले अन्तिम खेल अमेरिकासँग खेल्ने छ। अमेरिका तीन खेलमै पराजित भएको छ।

वेष्ट इन्डिज र जिम्बाब्वेको सुपर सिक्स निश्चित जस्तै बनिसकेकाले तेस्रो टोली नेपाल र नेदरल्यान्ड्स मध्येबाट छानिने छ। एक खेल अघि नै अमेरिकाको भने सम्भावना सकिएको छ।

सुपर सिक्समा समूह ए बाट तीन टोली र समूह बी बाट तीन टोली पुग्ने छन्।

समूह बी का आयरल्यान्ड र युएई सुरुका दुवै खेलमा पराजित भएका छन्। ओमान दुवै खेलमा विजयी हुँदा श्रीलंका र आयरल्यान्डले पनि खेलेका एक एक खेल नै जितेका छन्। शुक्रबार यो समूहबाट अघिल्लो चरण जाने टोलीको सम्भावित टुंगो लाग्न सक्छ।

अब सुपर सिक्समा दुवै समूहका टोलीबीच खेल हुनेछ। सुपर सिक्सका खेलपछि शीर्ष दुई टोली भारतमा हुने विश्वकपमा छनोट हुनेछन्।


ताजा समाचार