‘प्रधानमन्त्रीको राजीनामा माग्ने ओली सत्ताबाट झर्नुपर्दाको छट्पटी हो’

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना भएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महासचिव भुसालले प्रधानमन्त्रीको अनौपचारिक भनाइलाई लिएर प्रधानमन्त्री पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल पनि नभएको र प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको बताए।

उनले भने– ‘हामीले प्रधानमन्त्रीको अभिव्यक्ति बारेमा धेरै छलफल गरेर निष्कर्षमा पुग्ने काम त गरेका छैनौँ । तर यो सबै हेर्दा मलाई के लाग्छ भने प्रधानमन्त्रीको भाषा अलि अनौपचारिक छ ।

म प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक, एकदमै राजनीतिक एकदमै सोची बिचारेर हरेक शब्द त्यसरी बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । उहाँले यस्तो अनौपचारिक बचनबाट पछाडि राख्नुपर्छ ।’

भुसालले आगामी दिनमा प्रधानमन्त्रीले यस्ता कुराहरूमा ध्यान दिनुपर्ने बताए । गत असार १८ गते प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएपछि विवादमा तानिएका थिए । सोही भनाइलाई आधार बनाएर संसद् अवरोध गर्नु एमालेको बच्पना र केपी ओली सत्ताबाट झर्नुपरेको छटपटी रहेको भुसालको टिप्पणी छ ।

उनले भने– ‘जहाँसम्म संसद् अवरोधको कुरा छ त्यो एकदमै बच्पना कुरा हो । किनभने उहाँहरूले जुन खालको आरोप लगाउन खोज्नुभएको छ, प्रधानमन्त्रीले बोलेको कुराले त्यो आरोप पुष्टि हुँदैन ।

यो बढी आग्रहयुक्त छ । खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनुभएको छ जुन अनुचित छ ।

उनले प्रधानमन्त्रीले बोल्दाखेरी एकदमै औपचारिक भाषा बोल्नुपर्ने उल्लेख गरे । उनले नेकपा एकीकृत समाजवादी पार्टीमा यसबारे कुनै छलफल नभएको र पार्टीको कुनै धारणा नरहेको बताए । कसैले प्रधानमन्त्रीलाई सुझाव दिन्छ भने त्यसलाई लिनुपर्ने तर कसैले प्रधानमन्त्रीकै हैसियत सकाइदिन्छु भन्छ भने त्यो मृगतृष्णाको विषय मात्र हुने उनको भनाई छ ।


ताजा समाचार