मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु: प्रधानमन्त्री

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् ।

चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।

अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न सरकार लागेको बताए ।

उनले बुढीगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत् निकाल्ने गरी काम भैरहेको बताए ।

विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

शुक्रबार दिउँसो चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर १४ स्थित आफैं घरमा बसेका छन् । उनी शनिबार चितवन नै रहने पारिवारिक स्रोतले जनाएको छ ।


ताजा समाचार