गोसाइँकुण्डका तीर्थयात्रु शुलाद्री पर्वत चढ्न थाले

रसुवा । निलाद्री पर्वतमा विराजमान  गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरू भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवं पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा थर्कुको व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खानाको दरभाउसमेत निर्धारण गरिसकिएको उनले जानकारी दिए ।

“यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको व्यवस्थापन गरेका छौँ”, डिएमले भने, “अन्य आवश्यक सहयोगका लागि स्वयं सेवक परिचालन गरिएको छ ।” उनले यात्रुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक सेवा उपलब्ध गराउने गरी तयारी पुरा भएको जानकारी दिए । विशेष गरी तीर्थ यात्रुलाई लेक लाग्ने समस्या बढी देखिने भएकाले नेपाली सेना चोलाङपाटी र हिमालय उद्धार सङ्घको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको समितिका अध्यक्ष डिएमले बताए ।

GCI COLLEGE

गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गा दशरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । जीवनमा एक पटक पुग्नैपर्ने तीर्थ गोसाइँकुण्ड भएको जनाउँदै उनले यहाँ पुग्दा प्राकृतिक र धार्मिक दृष्टिले आनन्द प्राप्त हुनुका साथै मनोकामना पुरा हुने विश्वास व्यक्त गरे । “पवित्र तीर्थ गोसाइँकुण्ड समुद्र सहतदेखि १४ हजार एक सय फिटको उचाइमा पर्दछ । यहाँ स्नान गरी पूजाआरधना गर्नाले सबै कार्य सिद्ध हुने धार्मिक मान्यता रहिआएको छ”, उनले भने ।

कुण्ड क्षेत्र बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित रहेकाले उक्त गाउँपालिकाले यहाँ आउने यात्रुका लागि बासस्थान, खाना, उपचारलगायतको व्यवस्थापनमा समन्वय गरिरहेको स्थानीयले बताएका छन् ।

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको पुरोहित ढकालले बताए । “जनैपूर्णिमाका दिन सम्पूर्ण देवदेवता यहाँ बास बस्न आउने धार्मिक विश्वास छ । त्यसैले यस अवसरमा यहाँ मेला लाग्ने गर्दछ”, उनले भने, “यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।”

यस वर्ष भदौ १४ गते जनैपूर्णिमा पर्व परेको छ । उक्त दिनसम्म करिब १५ हजार भक्तजनलाई गोसाइँकुण्ड पु¥याउने लक्ष्य राखिएको गोसाइँकुण्ड क्षेत्रविकास समितिले जनाएको छ । समितिका साथै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारलगायत निकायको सहयोगमा गोसाइँकुण्ड मेला व्यवस्थापन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारीले बताए । तीर्थयात्रुको सुरक्षारार्थ रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि गोसाइँकुण्डसम्म आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिसकिएको बताउँदै उनले सम्पूर्ण यात्रुलाई निर्धक्क साथ यात्रा गर्न अनुरोध गरे ।

Tata
यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए । यात्रुले प्रयोग गरेका सवारीसाधन व्यवस्थापनका लागि धुञ्चेमा पार्किङस्थल निर्माण गरेको जनाउँदै प्रजिअ अधिकारीले पार्किङस्थल सुरक्षा तथा व्यवस्थापनका लागि स्थानीय तहले स्वयं सेवक परिचालन गरेको बताए ।

Hamroo patro
Thulomail

ताजा समाचार