मोटरसाइकल मिस्त्रीबाट अब्बल अभिनेता बनेका मुकुन
काठमाडौँ । घरनजिकै अस्पताल थियो। उनकै आँगनको बाटो भएर दिनहुँ सेतो कोट लगाएर डाक्टरहरु ओहोरदोहोर गर्थे। अहिलेका कलाकार मुकुन भुसालले बाल्यकालको धेरै समय डाक्टर बन्ने सपनाको उडान भरे। उनका शिक्षकहरुले आफ्नो विषय अनुसारका भविष्यवाणी गरे। उनी आफैँले पनि बेलाबेला सपना बदलिरहे।
रेडियो सुन्थे, कहिले समाचारवाचक भएर ऐनामा हेर्थे आफ्नै अनुहार। कहिले गायक बन्थे आफ्नै हातको माइक बनाएर नक्कल गर्थे गीत गाएको। मुकुनले ट्रक ड्राइभर भएर थुप्रै घुमाए सपनाको स्टेयरिङ। उनलाई एक समय त लागेको थियो, ‘म जिन्दगीमा ड्राइभर नै बन्छु।’ सपना र रहरहरुको यो बहिखातामा कलाकारिता सबैभन्दा पुछारमा थियो।
जिन्दगीमा जे बन्न पनि पढ्नु पर्छ भन्ने थाहा थियो। तर, पढाइ उनको बसमा थिएन। सबैभन्दा कमजोर थियो गणित विषय। गणितका शिक्षक उनका कान समात्दै भन्थे, ‘तैँले जिन्दगीमा पढिखाँदैनस्। तँ गोरु बन्छस्।’ जसोतसो आईएसम्मको पढाइ सके। बीए भर्ना गरेपछि एकाएक मुकुनका सपना बदलिए। हिजोसम्म देखेका सबै सपना बिर्सिए। पैसा कमाउने सपना देखे। बीएको पढाइ बीचमै छोडेर ग्यारेज खोले। हजार सपनाको उडान भरेका मुकुन बाइक मिस्त्री बने। केही समय काम गरे। कमाइ राम्रै थियो।
छोरो बाइक बनाउने मिस्त्री भएको उनका पितालाई मन परेको थिएन। वकालत गर्ने उनका पिताको कमाइ राम्रै थियो। अभाव थिएन। घरको कान्छो छोरो पढाइ नै छाडेर पैसा कमाउन लागेको दृश्यले उनका बुबाको मन नमज्जाले दुखेको थियो। मुकुनले बुबाको मनको दुखाइ कयौं पटक अनुहारमै देखेका हुन्। बुबा बेलाबेला भन्थे, ‘तँलाई पढाइ छोडेर पैसा किन कमाउन परेको छरु’
बाइक बनाउँदै गर्दा उनलाई एकदिन लाग्यो, ‘औपचारिक शिक्षा पनि चाहिन्छ जीवनमा।’ ग्यारेजको सटर ताने र काठमाडौं फर्किए। काठमाडौं अस्कर कलेजमा भर्ना भए। त्यसपछि हो मुकुनले कलाकार नै बन्छु भनेर निर्णय गरेको। कलेज पढ्दै गर्दा मुकुनले केही सर्ट फिल्ममा काम गरे। सर्ट फिल्मले अभिनयको भोक मेटाउँदैनथ्यो। मुकुन सामाजिक कथाले भरिएका स्क्रिप्टको पर्खाइमा बसे। आएका थुप्रै कर्मसियल फिल्मको अफर छाडिदिए।
भन्छन्, ‘मेरो चाहना फिल्ममा देखिनु मात्रै थिएन। मेरो चाहना त मन भरिनेगरी अभिनय गर्नु थियो।’ बीएको पढाइ सकियो। मुकुनले भनेजस्तो फिल्म पाएकै थिएनन्। थप अध्ययनका लागि मुम्बई हानिए। मास्टर्स डिग्री सकेर नेपाल फर्किए लगत्तै उनले बुलबुल फिल्मको स्क्रिप्ट पाए। काम गरे। पहिलो फिल्मबाटै मुकुन उद्योगमा परिचित भए। उनको कामको प्रशंसा भयो।
मुकुनले अभिनय गरेको दोस्रो फिल्म ‘झिंगेदाउ’ हो। दोस्रो फिल्म बक्स अफिसमा हिट भयो। उनै मुकुनले अभिनय गरेका दुई फिल्म एकसाथ रिलिजको तयारीमा छन्। मुकुन आफू अभिनित ‘एैँचो पैचो’ र ‘गणपति’ प्रमोसनमा व्यस्त छन्। हिजोआज उनी अचम्म महसुस गरिरहेका हुन्छन्। भन्छन्, ‘एकैपटक दुई वटा फिल्म रिलिज भएको मेरो अनुभव थिएन। अहिले भागदौड भइरहेको छ। तर मैले यसलाई तनावका रुपमा लिएको छैन। फिल्म निर्माताले व्यावसायिक सुरक्षा हेरेर नै यो मितिमा फिल्म रिलिजको निर्णय लिनु भएको हो। दुवैलाई ब्यालेन्समा मिलाएर प्रमोसनमा सहभागी भैरहेको छु।’
बेलाबेला उनलाई आफ्ना दर्शक बाँडिने चिन्ता भने लाग्छ। दुई फिल्म फरकफरक विधाका हुन्। दुवै फिल्मका लक्षित दर्शक फरक छन्। त्यसैले उनी आशावादी छन्। फेरि सम्झन्छन्, ‘मलाई चाहने दर्शक त जसरी पनि विभाजित हुने भए।’
मुकुनका दुई फिल्म रिलिज भए। दुवै सफल भए। तर मुकुन आफ्नो नामलेभन्दा धेरै ‘बुलबुल’का चोपेन्द्रको पहिचान बोकेर हिँडिरहेका छन्। भन्छन्, ‘अब चोपेन्द्र भनेर लागेको ट्याग मेटिने छ।’
मुकुन अभिनित ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुवै फिल्म आगामी शुक्रबार अर्थात् भदौ १४ गतेबाट रिलिज हुँदै छ।