युरोकपको ड्र सार्वजनिक, स्पेन र इटली एकै समूहमा

काठमाडौं। अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक भएको छ।

गएराति भएको ड्र अनुसार साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन्। इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन्।

इटलीले युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएर उपाधि जितेको थियो।

युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ।

आयोजक जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन्।

यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन्।

फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन्। यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ। प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन्।

यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ।

यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्ने।

प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया, प्लेअफ समूहमा ‘बी’ मा इजरायल, बोस्निया एण्ड हर्जगोभिना, युक्रेन र आइसल्याण्ड तथा प्लेअफ ‘सी’ मा जर्जिया, ग्रीस, कजाखस्तान र लक्जेमवर्ग छन।

तीनवटै समूहको विजेता मात्र युरो कपमा पुग्नेछन्।

युरोकप २०२४ को उद्घाटन खेल घरेलु टोली जर्मनी र स्कटल्याण्डबीच हुनेछ। यो खेल जुन १४ मा म्युनिखस्थित एलिएन्ज एरेनामा हुनेछ। यस्तै फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ।

युरोकप


ताजा समाचार