भारतले मलाई प्रधानमन्त्री पदबाट हटाउन खोज्यो: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको दाबी गरेका छन्।

जन नेता मदन भण्डारीको ६९औं जन्मदिनका अवसरमा ‘मदन भण्डारी फाउण्डेसन’ ले शनिबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्रीबाट हटाउने खेलमा नेपालका नेताहरू पनि लागेको बताएका छन्।

उनले भने, ‘तपाईहरुले पनि सुन्नु भएको हुन्छ, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला। भारतका बौद्धिक बहसहरु सुन्नु भएको होला। कसरी भारतको राज्य संयन्त्र सक्रिय छ‘।’

यो पनि पढ्नुहोस्

‘मदन भण्डारीको हत्याबाट फाइदा लिनेमा विद्यादेवी र केपी ओली’

उनले भने, ‘नेपालकै केही नेताहरु लागेका छन्। केपी ओलीलाई नहटाई हुँदैन भन्ने खालको बहस चलेको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग ब्यापारिक सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो। किनभने हामीसँग बहुमत थिएन। अहिले त्यही सपना देखेर संविधान सशोधन भयो। नक्सा जारी भयो। बाहिर भन्न नसक्ने तर, भित्रभित्र यस्तो अपराध गर्ने ?’ यहाँका होटलहरुमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ। दूताबासको सक्रियताले पनि देखाउँछ।’

प्रधानमन्त्री पदबाट हटाउने सपना पुरा नहुने ओलीको भनाई छ। उनले भने, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ, म प्रधानमन्त्रीबाट हटेको दिनबाट नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन। त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि। आफ्ना लागि होइन, देशका लागि। थिती बसाल्न खोजेको हो। यसैले हाम्रो पार्टी र संसदीय दल यस्तो बहकावमा लाग्नु हुँदैन।’

 


ताजा समाचार