भारतीय दूतावासको मान्छे हुँ भन्दै ठगीदेखि यौनशोषणसम्म

काठमाडाैं। आफु भारतीय दूतावास निकट व्यक्ति भएको भन्दै श्रृङखलाबद्ध ठगी गर्ने सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कचनदाहा घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ। उनले दूतावासबाट विभिन्न किसिमका काम मिलाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

एक व्यक्तिलाई दूतावासमा भनसुन गराई केन्द्रीय विद्यालयमा छोरा निस्शुल्क भर्ना गरिदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई आइतबार पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा दूतावासमा एम्बुलेन्स तथा बस अनुदान मिलाइदिने, जागिरमा लगाइदिने भनेर समेत अन्यलाई ठगी गरेको खुलेको छ । एक व्यक्तिलाई पैसा नदिए बम पड्काइदिने भनेर समेत धम्काएका थिए। कतिपय किशोरीलाई जागिरको प्रलोभनमा यौन शोषण गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

भारतीय गुप्तचर निकाय ‘रअ’को एजेन्ट हुँ भनेर समेत कतिपयलाई उनलाई धम्काएको परिसरका एक अधिकृतले बताए । ठगी मुद्दामा उनीमाथि प्रहरीले कारबाही अघि बढाएको छ ।


ताजा समाचार