रियाद सिजन कपः मेस्सीको मायामी साउदी टोली अल–हिलालसँग ४–३ ले पराजित

रियाद सिजन कपमा साउदी टोली अल–हिलालले मेस्सीआबद्ध अमेरिकन क्लब इन्टर मायामीलाई पराजित गरेको छ । सोमबार रातिको खेलमा अल–हिलालले मायामीविरुद्ध ४–३ गोल अन्तरको जित निकालेको हो।

अल–हिलाल ब्राजिलियन स्टार नेमार जुनियर आबद्ध क्लब हो, तर इन्जुरीका कारण नेमार भने यो खेलमा उपस्थित थिएनन् । लियोनल मेस्सी, लुइस स्वारेज, सर्जियो बुस्केट्स र जोर्डी अल्बाजस्ता स्टार खेलाडी भए पनि मायामी साउदी क्लबसँग पराजित भएको हो ।

खेलको १०औँ र १३औँ मिनेटमै लगातार अल–हिलालले दुई गोल गरेको थियो, त्यसपछि खेलको ३४औँ मिनेटमा मायामीका लागि स्वारेजले एक गोल फर्काएका थिए । फेरि खेलको ४४औँ मिनेटमा अल–हिलालका लागि माइकलले तेस्रो गोल गरेका थिए ।

५४औँ मिनेटमा पुनः पेनाल्टीमा मेस्सीले मायामीका लागि दोस्रो गोल गरे । त्यसको एकै मिनेटमा फेरि मायामीका लागि डेभिड रुइजले आकर्षक गोल गर्दा खेल ३–३ को बराबरीमा पुगेको थियो । तर, खेलको ८८औँ मिनेटमा अल–हिलालका लागि माल्कोमले चौथो गोल गरेपछि भने उक्त गोल नै अल–हिलालको जितका लागि निर्णायक बन्यो ।

मेस्सी सब्स्टिट्युट गरेको केही बेरमै मायामीले चौथो गोल खाएको थियो । यसरी आकर्षक पुनरागमन गर्न पुगे पनि मायामी खेलमा पराजित भयो । रियाद सिजन कपमा नेमार आबद्ध अल–हिलाल, क्रिस्टियानो रोनाल्डो आबद्ध अल–नासर र मेस्सी आबद्ध इन्टर मायामी सहभागी छन् ।

रोनाल्डो र मेस्सी आबद्ध अल–हिलाल र इन्टर मायामीबीचको भिडन्त भने फेब्रुअरी १ अर्थात् पर्सि बिहीबार हुँदै छ ।


ताजा समाचार