मुम्बई इन्डियन्स सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको पहिलो जित हो ।

जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो । मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । ईशान किशन १३ बलमा २ चौका र ४ छक्कासहित ३४, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए ।

टिम डेविड २२ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे ।

हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए ।

त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उक्त कीर्तिमान हैदरावादले तोड्दै इतिहासकै ठूलो योगफल बनाएको हो ।

हैदराबादका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे । एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे । चौथो विकेटका लागि क्लासेन र माक्ररमले ५५ बलमा ११६ रनको अविजित साझेदारी गरेका थिए ।

हैदराबादका ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले । अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाएका थिए ।

ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १ र १ विकेट लिएका थिए । एजेन्सी

 


ताजा समाचार