अमेरिकी सीईओहरूमाझ सी चिनफिङको व्यापारी रूप

चीनका सी चिनिफिङ आफ्नो कडा नेतृत्वशैलीका लागि चिनिन्छन्। आलोचकहरूलाई सहँदैनन्, भ्रष्ट अधिकारीहरूलाई तुरुन्त हटाउँछन् र उनका अनुसार अमेरिकी प्रभुत्वमाथि उनी धावा बोल्छन्।

तर, माओ चेतुङयताका सबैभन्दा शक्तिशाली यी नेताले यही साता भने व्यापारीको रूप धारण गरे। उनले चीन भ्रमणमा आएका अमेरिकी प्रमुख कार्यकारीहरूलाई चीन लगानीका लागि राम्रो गन्तव्य हो भनेर विश्वस्त तुल्याउन खोजे।मित्रवत् र शान्त सीले १८ अमेरिकी सीईओहरूको टोलीलाई ग्रेट हल अफ द पिपुलमा स्वागत गरे। जसमा ब्ल्याकस्टोनका स्टिफल स्वार्जम्यानदेखि क्वालकमका क्रिस्टियानो आमोनसम्म थिए। दुई घण्टासम्म तिनको प्रश्नको जवाफ दिनुअघि उनले उनीहरूसँग फोटो पनि खिचाए।

उपस्थितहरूले सीको सो प्रस्तुति अभूतपूर्व रहेको बताए। जो प्रायः औपचारिक रहने गर्छन्।‘निकै न्यानो वातावरण थियो। उनी फकाउन खोज्दै थिए,’ नेसनल कमिटी अन यूएस–चाइना रिलेसन्सका अध्यक्ष स्टिभ अर्लिन्सले भने, ‘त्यहाँ ट्रिलियन डलरको आम्दानी थियो। धेरै पैसा लगानी गरेका थुप्रै मान्छे थिए। जसले लगानी बढाउने कि नबढाउने, निर्णय गर्नेवाला थिए। त्यसैले सी त्यहाँ हाम्रो अर्थतन्त्र बलियो छ, हामी राम्रो गर्दैछौँ र अझ राम्रो गर्नेछौँ भन्न आएका थिए।’चीनको अर्थतन्त्र समस्याहरूसँग जुधिरहँदा सो भेट भएको थियो। खासगरी चीनको रियल स्टेट क्षेत्रमा आएको मन्दीले घरेलु माग कम भएको छ। आर्थिक कठिनाइ र अमेरिकासँग बढ्दो भूराजनीतिक तनावका कारण चीनमा प्रत्यक्ष वैदेशिक लगानी घटेको छ। १९९० यता गतवर्ष सबैभन्दा कम लगानी भित्रिएको छ। तर गत वर्षदेखि चीन अमेरिकासँगको सम्बन्धलाई स्थिरता दिन खोजिरहेको छ। नोभेम्बरमा सीले सान फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेट गरेका थिए। त्यसबेला पनि उनी अमेरिकी व्यवसायीमाझ रात्रीभोजमा सहभागी भएका थिए। त्यसैको फलोअपमा चीनमा सो भेट गरिएको हो।

सोहीकारण यही साता चाइना डेभलपमेन्ट फोरममा पुगेका युरोपेली व्यवसायीलाई ननिम्त्याइएको अर्लिन्स बताउँछन्।यो भेटमा सीले पूर्वतयारी गरेको भाषण मात्र १२ मिनेटको थियो। उनीहरूबीच एक घण्टा ४० मिनेट छलफल भएको थियो। ‘हामीसँग समस्या छ। यो कुरा हामीलाई थाहा छ। तर, हामी बलियो छौँ। हामीले विश्वको जीडीपी वृद्धिमा ३० प्रतिशत योगदान दिइरहेका छौँ भनेर उनले भने,’ अर्लिन्स भन्छन्, ‘उनी व्यवसायीहरूलाई प्रेरित गरिरहेका थिए। उनी बेचिरहेका थिए। र, मेरो नजरमा त्यो विश्वासनीय थियो।’भेटमा सीले चीन अमेरिकालाई विस्थापित गर्ने प्रयासमा नरहेको पनि स्पष्ट पारेका थिए। फाइनान्सियल टाइम्सबाट


ताजा समाचार