गृहमन्त्रीमाथि कांग्रेसले मिथ्या आरोप लगायो: सन्तोष परियार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको बताएका छन्।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक परियारले कांग्रेसलाई संसदीय छानबिन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताए । उनले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन कांग्रेसले संसदमा मौका दिनुपर्ने बताए । उनले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई सङ्कुचित गर्नु नहुने बताए । उनले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गरे।

उनले भने, ‘नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो । त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ । जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरूमध्ये एउटा शीर्षस्थ नेता हो । त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई सङ्कुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्नेकुरा नेपाली काँग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।

प्रमुख सचेतक परियारले आफूमाथि उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि बताए ।


ताजा समाचार