एसिसी प्रिमियर कप : नेपाललाई जितका लागि १४४ रनको लक्ष्य

काठमाडौं। एसिसी प्रिमियर कपमा नेपालले जितका लागि १४४ रनको लक्ष्य पाएको छ। ओमानको अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले तीन विकेटको क्षतिमा १४३ रन बनाएको हो।

मलेसियाका लागि सर्वाधिक रन जोडेर क्याप्टेन वीरनदीप सिंह नटआउट रहे। ५७ बल सामना गरेका उनले चार चौका र चार छक्काको मद्दतमा ७२ रन जोडे।

सरविन मुनिएन्डीले ४१ तथा मोहम्मद अमिरले १६ रन बनाएर पेभेलियन फर्किए। सैयद अजिजले ६ रन बनाउँदा नज्मुस साकिबले नटआउट तीन रन जोडे।

बलिङतर्फ नेपालले मध्यमस्तरको प्रदर्शन गरेको छ। दीपेन्द्रसिंह ऐरी र अविनास बोहोराबाहेक अन्य बलर विकेटविहीन रहे।दिपेन्द्रले चार ओभरमा दुई विकेट लिएर १४ रन मात्र खर्च गरे। चार ओभर नै बलिङ गरेका अविनाशले २८ रन खर्चेर एक विकेट हात पारे।

तुलनात्मक रुपमा गुल्सन झा र करण केसी केही महँगा देखिए। एक ओभर बलिङ गरेका गुल्सनले १२ रन तथा दुई ओभरमा करणले २१ रन खर्च गरे।


ताजा समाचार