‘फर्की फर्की’ को ट्रेलरमा रोमान्टिक अनमोल र जसिता
काठमाडौँ । अनमोल केसी र जसिता गुरुङ स्टार फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा टाइम ट्राभलको कथालाई प्रस्तुत गरिएको छ।
अनमोलको दैनिक गतिविधी र जसितासँगको प्रेमसम्बन्ध वरिपरि ट्रेलर घुमेको छ। पहिलोपटक स्क्रिन सेयर गरेका अनमोल र जसिताको रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ।
फिल्ममा अनमोल म्याडीको भूमिकामा छन्। जो अनमोल आफूलाई भगवान ठान्छन्। आफूलाई पावरफूल ठान्दा आउने समस्यापनि ट्रेलरमा देखाइएको छ। साथै ट्रेलरमा नवकलाकार समृद्धि अर्याल र रवि काफ्लेले राम्रै स्थान पाएका छन्। फिल्ममा सलोन बस्नेत, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारहरुको पनि अभिनय छ।
सुयोग गुरुङको लेखन र निर्देशनमा बनेको फिल्मको निर्माता रोहित अधिकारी हुन्। नरेन्द्र मैनालीको खिँचेको फिल्ममा रोहितका साथै ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालको लगानी रहेको छ।
यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदैछ।