आईपीएल : आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबिच खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबिच खेल हुँदैछ। उक्त खेल ईकाना क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । अटल बिहारी बाजपेई स्टेडियम लखनउको घरेलु खेल मैदान हो ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४८औँ खेल हो । यो सिजनको आईपीएलमा लखनउ र मुम्बई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । यो सिजन लखनउको तुलनामा मुम्बईको प्रदर्शन निराशाजनक देखिएको छ ।

आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल क्लब हो । मुम्बईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ। मुम्बईको अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँच पटक आईपीएलको उपाधि चुम्न सकेको छ ।

जारी सिजनको आईपीएलमा लखनउले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ। लखनउ १० अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । मुम्बईले भने यसअघि खेलिएको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ ।

मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकामा मुम्बईभन्दा तल रोयल च्यालेन्जर्स बैंगलुरु मात्र छ । अत्यन्तै निराशाजनक प्रदर्शन गरेको बैंगलुरुले यो सिजन आफूले खेलेको १० मध्ये तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । एजेन्सी


ताजा समाचार