वेस्टइन्डिज ‘ए’ सँगको तेस्रो हारसँगै नेपालले गुमायो सिरिज

काठमाडौं । पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सँग लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी-२० सिरिज गुमाएको छ।

बिहीबार भएको सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा भएको सिरिज एक खेलअगावै गुमाएको हो।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ‘ए’ ले ३–१ ले जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको छ।

पहिलो खेलमा ४ विकेटले जित निकालेको नेपालले त्यसयता लगातार तीन खेलमा पराजित भएको छ। सिरिजको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।

सिरिजको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो।

नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।

सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी समान १९ रन बनाउँदा क्याच आउट हुन पुगे। सोमपाल कामी १० रन बनाउँदा आउट भए।

ओपनर आशिफ शेख शुन्य र कुशल भुर्तेल १ रनमा बोल्ड आउट भए। कुशल मल्लले ४ रन बनाउँदा क्याच आउट भए। प्रतिश जिसी शुन्य रनमा पेभेलियन फर्के।

नेपाललाई कम स्कोरमा रोक्न म्याथु फोर्डले ३ विकेट लिए। फाबियन एलियन, हेडन वेल्सले समान २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको हो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

जोनसन चाल्र्स ५८ रन बनाउँदा क्याच आउट भए। ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।

केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट भए।

ओपनर एलिक अथानाजे ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। प्रतिश जिसीले १ विकेट लिए।

Photo : CAN


ताजा समाचार