ओली र प्रचण्ड-नेपालीबीचको वार्ता निष्कर्ष विहीन

काठमाडौंँ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ।

बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ। बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए। करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो।

यसअघि विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल हुँदै आएकोमा आजको बैठकमा नेपाल पनि सहभागी रहेका हुन्। बुधबारसमेत करिव ३ घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन। शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन।

गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन्। अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन्।

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ। प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर ५ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो।

तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ। नेता नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राख्दै आएका छन्।


ताजा समाचार