सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति
काठमाडौँ। बलात्कार मुद्दामा सफाइ पाएपछि लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जान निश्चित भएको छ।
बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउन प्रक्रिया सुरु गरेको थियो।
तर, यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने या नपाउने अन्योल रहेको थियो।
आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने पक्का भएको हो।
सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गरेर आईसीसीमा पठाएको थियो।
आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले उनलाई पठाउने प्रक्रिया सुरु गरेको हो। सम्भवतः उनी शनिबार त्यसतर्फ जानेछन्।
क्यान स्रोतका अनुसार, “आईसीसीले सन्दीपलाई राख्न स्वीकृति दिएको छ। सन्दीप १५ सदस्यीय अन्तिम टोलीमा परेपछि अर्को खेलाडीलाई क्यानकै खर्चमा टोलीसँगै राखिनेछ। कुनै खेलाडी घाइते भए नेपालबाट नपठाइ १६ औं खेलाडीलाई नै रिप्लेस गरिनेछ। सन्दीप टोलीमा पर्दैमा अर्को खेलाडीमाथि अन्याय गर्न दिदैनौं। त्यसैले त्यही राख्नेछौं।”
क्यानले विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ अर्थात् जेठ १२ गतेसम्म छ।
२०८० पुस २६ गते क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तान सन्दीपलाई निलम्बन गरेको थियो। जिल्ला अदालतले दोषी ठहर गरेपछि निलम्बनमा परेका सन्दीप लगभग ५ महिनापछि मैदान फर्किन लागेका हुन्।
टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ देखि सुरु हुनेछ।
१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलो पटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली पठाएको छ। टोली हाल दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ।
अमेरिका पुगेको टोलीमा कप्तान रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।