आईसीसी टी-२० वरीयताको अलराउन्डर श्रेणीमा दीपेन्द्र १०औँ स्थानमा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा मंगलबार राति प्रकाशित पछिल्लो वरीयतामा थप प्रगति गरेका छन्। आईसीसी टी-२० वरीयताको अलराउन्डर श्रेणीमा दीपेन्द्र १०औँ स्थानमा उक्लिएका छन्।

अघिल्लो वरीयतामा दीपेन्द्र ११औँ स्थानमा थिए, तर यसपटक एक स्थान माथि उक्लिएर १०औँ स्थानमा पुगेका हुन्। उनले पाकिस्तानका सदाब खान, इमाद वसिम, अस्ट्रेलियाका मिचेल मार्स र ग्लेन म्याक्सवेल, वेस्ट इन्डिजका जासन होल्डर र रोमारियो सेफर्डजस्ता खेलाडीहरूलाई पछाडि पारेका छन्।

यस्तै, दीपेन्द्रले भारतका अक्षर पटेल, न्युजिल्यान्डका मिचेल सान्टनर र अफगानिस्तानका राशिद खानलाई पनि अलराउन्डर वरीयतामा पछाडि पारेका छन्। नेपालका अर्का खेलाडी कुशल मल्ल अलराउन्डर वरीयतामा ३२औँ स्थानमा रहेका छन्।

यसअघि वैशाखमा घोषित वरीयतामा दीपेन्द्रले निकै ठूलो छलाङ मारेका थिए। त्यसबेला उनी एकैपटक १४ स्थान माथि उक्लेर अलराउन्डर वरीयताको ११औँ स्थानमा पुगेका थिए।


ताजा समाचार