दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध
काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकका अनुसार दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा समस्या देखिएको र मर्मतका लागि टोली पठाइएको छ।
‘लमहीदेखि १३ किलोमिटर टाढा विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको एडीएसएसमा समस्या देखिएको छ,’ मल्लिकले भने, ‘त्यसका लागि बुटवलबाट विशेष प्राविधिक टोली दाङतर्फ प्रस्थान गरिसकेको छ।’
अन्य सामान्य प्रकारका मर्मत स्थानीय प्राविधिकहरूले नै गर्न सक्ने भए पनि विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा रहेको उपकरण भएकाले विशेष टोली बुटवलबाट पठाउनु परेको उनले बताए।
उनका अनुसार प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित भएको छ। फोन नलाग्ने समस्याले टेलिकमका सेवाग्राहीहरू अप्ठ्यारोमा परेका छन्।