‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि पनि

काठमाडौं। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा बलियो कलाकारको लाइनअप देखिएको छ। यो फिल्ममा विजय बराल र बुद्धि तामाङका साथ बालकलाकार जान्भि पौडेल र स्वायम केसीले पनि अभिनय गर्नेछन्, जसको निर्माण टिमले जानकारी दिएको छ।

पहिले नै घोषणा गरिएको अनुसार, फिल्मका मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत, मुकुन भुसाल र अन्जना बराइली देखिनेछन्। साथै, विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाललाई पनि फिल्ममा अनुबन्धित गरिएको छ।

फिल्ममा कलाकारहरूको भूमिकाबारे हालसम्म केही खुलासा गरिएको छैन। निर्माता विनोद पौडेलले अनुबन्धित सबै कलाकारहरूलाई शीर्ष भूमिकामा देख्न सकिने जानकारी दिएका छन्।

यो फिल्म सरोज पौडेलको लेखन र निर्देशनमा तयार हुँदैछ। निर्देशक पौडेलका अनुसार, फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुनेछ।

फिल्मको सुटिङ यसै साता भित्र सुरु गर्ने योजना रहेको छ। अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले यसलाई निर्माण गर्न लागेको हो। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ भने कार्यकारी निर्माताको भूमिकामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहनेछन्।

महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन् र प्रशान्त सिवाकोटीको संगीत रहनेछ। यो फिल्मलाई आगामी वर्ष विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।


ताजा समाचार