टी–२० विश्वकप : नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौं संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। यो खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५:१५ बजे सुरु हुनेछ।
जारी विश्वकपमा नेपालले यो दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेका छन्, जसमा दक्षिण अफ्रिका र बंगलादेश पनि समावेश छन्।
समूह ‘डी’ मा हालसम्म पाँच खेल सम्पन्न भइसकेका छन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा बंगलादेशले श्रीलंकालाई दुई विकेटले पराजित गरेको थियो। चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले हरायो भने पाँचौं खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले पराजित गरेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौं स्थानमा रहेको छ भने नेपाल १७औं स्थानमा छ।