राष्ट्रपति पौडेल जेनेभा प्रस्थान (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, जेठ ३१ गते उनले उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

भ्रमणका क्रममा, राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घकी राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपाल र स्वीस महासङ्घका राष्ट्र प्रमुखबीच पहिलोपटक द्विपक्षीय भेटवार्ता हुन लागेको बताइएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार, राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ। जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टीनमेयरको निमन्त्रणामा उनले जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। असार ३ गते उनले जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन्।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल समेत रहनेछिन्। प्रतिनिधिमण्डलमा राष्ट्रपतिको परराष्ट्र मामिलाविज्ञ डा। सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा वरिष्ठ अधिकारीहरू रहेका छन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन्।

राष्ट्रपति पौडेलको विदाइमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।


ताजा समाचार