टी–२० विश्वकप : ‘सुपर–८’ मा अस्ट्रेलिया र बङ्गलादेश भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा शुक्रबार अस्ट्रेलियाले बङ्गलादेशसँग ‘सुपर–८’ चरणको खेल खेल्दैछ । अस्ट्रेलिया र बङ्गलादेशबिचको खेल नेपाली समय अनुसार, बिहान ०६ः१५ बजे एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा सुरु हुनेछ ।

‘सुपर–८’ चरणमा अस्ट्रेलिया र बङ्गलादेश ‘समूह–१’ मा छन् । भारत र अफगानिस्तान पनि सोही समूहमा रहेका छन् । अस्ट्रेलिया प्रारम्भिक चरणमा समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो ।

प्रारम्भिक चरणमा आफूले खेलका चारवटै खेलमा अस्ट्रेलिया विजयी भएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा अस्ट्रेलियाले साविक विजेता इङ्गल्यान्डलाई ३६ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाले तेस्रो खेलमा नामिबियामाथि नौ विकेटको सजिलो जित हात पारेको थियो । चौथो खेलमा भने अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । बङ्गलादेश भने समूह ‘डी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो ।

बङ्गलादेशले चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । त्यो समूहबाट दक्षिण अफ्रिका विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेका थियो । बङ्गलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई दुई विकेटले हराएको थियो ।

यसैगरी बङ्गलादेशी टोली दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग चार रनले पराजित भएको थियो । तेस्रो खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । आफ्नो चौथो खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गरेको थियो ।एजेन्सी


ताजा समाचार