प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने तालिका छ : सभामुख घिमिरे
काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसदमा विश्वासको मत लिने जानकारी दिएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने बताए।
सभामुख घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि असार २८ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको जानकारी दिए।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ‘विनियोजन विधेयक, २०८१’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराए।