युरो कप २०२४ : नेदरल्याण्ड्स र इंग्ल्याण्ड फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्दै

काठमाडौं । युरो २०२४ को दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे बर्लिनमा हुनेछ ।

नेदरल्याण्ड्सले क्वाटरफाइनलमा टर्कीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । उता इंग्ल्याण्डले भने स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएर अन्तिम चारमा पुगेको हो ।

यसपटक इंग्ल्याण्ड उपाधिको मुख्य दाबेदार रहेपनि त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन । यसअघि २०२१ मा आफ्नै देशमा भएको युरो फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्याण्ड लगातार फाइनलमा पुग्ने लक्ष्यमा छ ।

इंग्ल्याण्डले अहिलेसम्म युरो जित्न सकेको छैन ।

उता नेदरल्याण्ड्सले सन् १९८८ मा युरो जितेको थियो । नेदरल्याण्ड्स २० वर्षपछि युरोमा सेमिफाइनल खेल्दैछ । यसअघि सन् २००० र २००४ मा सेमिफाइनल पुगेको नेदरल्याण्ड्स त्यो बेला पराजित भएको थियो ।

मुख्य प्रतियोगिता इंग्ल्याण्ड र नेदरल्याण्ड्स चौथो पटक भिड्न लागेको हो । यसअघि सन् १९८८ को युरोमा नेदरल्याण्ड्सले इंग्लयाण्डलाई ३-१ ले पराजित गरेको थियो भने १९९६ को युरोमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई ४-१ ले पराजित गरेको थियो ।

१९९० को विश्वकपमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यी दुई टोली अहिलेसम्म समग्रमा २२ पटक आमने-सामने हुँदा नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने इंग्लयाण्ड ६ खेलमा विजयी भएको छ ।

यस्तै ९ खेल बराबरीमा सकिएको छ ।


ताजा समाचार