सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका छन्। यो उनको चौथो पटक कार्यकारी पद सम्हाल्ने अवसर हो।
सोमबार राष्ट्रपति निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरे। कार्यालयमा उनलाई कर्मचारीहरूले स्वागत गरे।
पदभार ग्रहण गर्नु अघि, ओली लैनचौरस्थित सहिद स्मारकमा गएर सहिदहरूको शालिकमा माल्यार्पण गरे। त्यसअघि, उनी पार्टी केन्द्रीय कार्यालय च्यासल पनि गएका थिए।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि असार २८ गते पदमुक्त भएका थिए। प्रचण्ड पदमुक्त भएसँगै, कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्।