‘छक्कापञ्जा ५’ को छायांकन सकियो, दशैंको फूलपातीका दिन रिलिज हुने
काठमाडौं । यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचियो ।
छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायांकन टुंगिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले समग्रमा छायांकनलाई लिएर उत्साह व्यक्त गरे । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायांकन लगत्तै पोस्ट–प्रोडक्सनमा जानेछ ।
यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक-दीपा छन् ।
यो फिल्म आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले जानकारी दिए । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा समेत छन् ।
‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज हुँदैछ ।