१ सय ४० केजी पुग्याे किम जोङ उनको तौल, दुब्लाउने औषधिकाे विदेशमा समेत खाेजी

उत्तर कोरियाली नेता किम जोङ उनको तौल फेरि बढेको छ । केही वर्षअघि मात्रै स्वास्थ्य समस्या आएपछि किम लामो समय सार्वजनिक जीवनमा देखिएका थिएनन् । यतिबेला फेरि तौल बढेपछि उनी उच्च रक्तचाप मधुमेहबाट पीडित बनेका छन् । दक्षिण कोरियाली गुप्तचर एजेन्सी नेसनल इन्टेलिजेन्स सर्भिसले उत्तर कोरियाली अधिकारीहरूले किमको तौल कम गर्ने औषधि विदेशमा समेत खोजिरहेको दाबी गरेको छ ।

४० वर्षीय किमले मदिरा र चुरोट सेवन गर्छन् । रिपोर्टअनुसार ५ फिट ८ इन्च अग्ला किमको तौल हाल १४० केजी पुगेको छ । यसअघि सन् २०२१ मा पनि किमले बढी तौलबाट समस्या भएपछि खानपानमा बदलाव गर्दै तौल घटाएका थिए । बढ्दो तौलका कारण किमलाई मुटुको रोग लाग्ने खतरासमेत बढेको छ । किमका बुबा र हजुरबुवाको पनि मुटुरोगका कारण मृत्यु भएको थियो। उनका बाबु किम जोङ इलको सन् २०११ मा ७० वर्षको उमेरमा हृदयाघातबाट मृत्यु भएको थियो ।

उनका हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको पनि १९९४ मा ८२ वर्षमा हृदयाघातबाटै मृत्यु भएको थियो । उत्तर कोरियाली नेता किमले अहिलेसम्म देशको सत्ता सम्हाल्नका लागि आफ्नो उत्तराधिकारी चयन गरेका छैनन् । केही समयअघिसम्म उनकी बहिनी किम यो–जोङ भावी नेता हुन सक्ने अड्कल गरिन्थ्यो । तर, केही मिडिया रिपोर्टमा किमले आफ्नी छोरी किम जु एलाई उत्तराधिकारी बनाउन सक्ने उल्लेख गरेका छन् । जसका लागि उनले छोरीलाई तालिम दिनसमेत सुरु गरिसकेका छन् ।

किम सार्वजनिक कार्यक्रमहरूमा छोरीलाई लिएर जाने गर्छन् । उत्तर कोरियाको मिसाइल लन्चिङ कार्यक्रममा पनि उनकी छोरी किमसँगै देखिने गरेकी छन् । किमकी उत्तराधिकारकीका रूपमा हेरिएकी बहिनी किम यो जोङ पनि आक्रामक देखिन्छिन् । उनी सन् २०१४ मा देशको प्रोपोगान्डा एन्ड एजिटेसन डिपार्टमेन्टको अध्यक्ष बनेकी थिइन् । सन् २०१७ मा उनलाई पोलिटब्युरो सदस्य बनाइएको थियो, जुन कमिटीले नै उत्तर कोरियासँग सम्बन्धित विषयमा निर्णय लिन्छ ।


ताजा समाचार