भैँसीलाई खान खोज्दा उल्टै मारिएको बाघको इतिबृत्तान्त

काठमाडौं। मकवानपुरको मनहरी-६ प्रतापपुरमा भैंसीलाई आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ।

पोष्टमर्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले उक्त बाघ घाइते र भोको रहेको पाइएको बताए।

‘अर्को बाघसँग जुँधेर घाइते भई लामो समय उठ्न नसकेको, उठेपछि सिकार गर्न नसकेर भौंतारिँदै बस्ती आएको जस्तो देखियो। पोष्टमर्टम गर्दा शरीरमा हड्डी र छालामात्रै थियो,’ डा. श्रेष्ठले भने, ‘उसको शरीरको विभिन्न भागमा दुई हप्ता जति पुरानो, गहिरो चोट छन्। एउटा तिखो दाँत भाँचिएको रहेछ। ईलाका कायम गर्नेक्रममा अर्को बाघसँग जुँधेर हारेको हुनसक्छ।’

बाघको पछाडिको भाग र टाउकोमा आलो चोट भेटिएको छ। भैंसीको घाँटीमा चोट छ।

श्रेष्ठकाअनुसार भौंतारिँदै गोठमा पुगेको बाघ सुरूमा सबै शक्ति लगाएर भैंसीको घाँटीमा झम्टिएको र लगत्तै भैंसी ऊमाथि जाइलागेको हुनसक्छ।

‘ऊ भोकाएको थियो, भैंसी देख्नासाथ झम्टिहाल्यो। भैंसीले पहिले उसको पछाडिको भागमा हान्यो अनि टाउकोमा हानेर भक्लक्कै पारिदिएको हुनसक्छ,’ श्रेष्ठको अनुमान छ, ‘बाख्रा भइदिएको भए मारेर खानसक्थ्यो होला। परिदियो भैंसी। नजिकै भएकाले दाम्लोले बाँधिएको अवस्थामा पनि भैंसीले जोडले हान्न सक्यो। ठाउँमै लागेर बाघ ठहरै भयो होला।’

घटनाको सूचना पाएर निकुञ्जको टोली पुग्दा प्रतापपुरस्थित बलबहादुर राईको गोठमा भैंसी घाइते अवस्थामा सुतिरहेको र बाघ छेउमा मृत अवस्थामा पल्टिएको भेटिएको थियो। मृत बाघको शरीरमा भैंसीको गोबरसमेत थियो।

बाघको पोष्टमर्टमपछि थप परीक्षण गर्न नमूना लिइएको छ। अन्य केही रोग पनि थियो कि भनेर पत्ता लगाउन उक्त नमूनाको परीक्षण गरिने उनले बताए। तर मृत्युको कारण अरू नभएको दाबी उनको छ।


ताजा समाचार