चुमभ्यालीबाट काठमाडौँ हिँडे प्रकाश, साहुले १० लाख दिने

काठमाण्डौँ। तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकामा अवस्थित चुमभ्यालीमा बिताएका प्रकाश तामाङ (काले मोक्तान) काठमाडौँ हुँदै भोजपुरका लागि निस्किएका छन्। उनी बिहीबार जनप्रतिनिधिसहितको बिदाइपछि भोजपुरका लागि हिँडेका हुन्।

‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ नामक कथा प्रकाशन भएपछि चर्चामा आएका उनी चुमभ्यालीबाट सिधै काठमाडौँ आउनेछन्।

काठमाडौँबाट उनी भोजपुर जानेछन्।

चुमनुब्री गाउँपालिका–७ का अध्यक्ष टसी दोर्जे लामाले बिहीबार जनप्रतिनिधि, प्रकाशका साहू लगायतका अगुवाहरूले प्रकाशलाई बिदाइ गरेको बताए।

वडाध्यक्ष लामाका अनुसार साहुले प्रकाशलाई १० लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। ‘यहाँ हामी सबै समाजको अगाडि उहाँ (साहु) ले खाता खोलेपछि १० लाख दिने प्रतिबद्धता जनाउनुभएको छ,’ लामाले भने। त्यस्तै गाउँपालिकाले पनि १ लाख रुपैयाँ सहयोग उनलाई गर्ने बताएको छ।

प्रकाश काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चुमभ्यालीबाट बिदा भएको लामाले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको बताएका थिए। उनले गृहसचिव एकनारायण अर्याललाई भेटेर नागरिकता बनाउन समन्वय गर्न निर्देशन दिइसकेका छन्।

यस्तै प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीको नेतृत्वमा घर समेत निर्माण हुने भएको छ। अन्य विभिन्न निकायले पनि उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


ताजा समाचार