पलेशाको सफलताबारे पूर्वराजा शाह – अनेकौँ प्रतिकूलताबीच देशको गौरव बढाइन्

काठमाडौं। पारा ओलम्पिकमा नेपालका लागि पहिलो पटक पदक दिलाउन सफल पालेशा गोवर्धनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् ।

पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले नेपालका लागि कास्य पदक जितेपछि पूर्वराजा शाहबाट पनि बधाई आएको हो।

६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालका लागि पहिलो पदक प्राप्त गरेको खबरले आफूलाई खुसी तुल्याएको पनि उनले बताएका छन् । पूर्वराजा शाहका संवाद सचिव डा। फणिराज पाठकले आइतबार जारी गरेको वक्तव्यमा अनेकन प्रतिकुलतकाबीच मिलेको सफलताले खुसी तुल्याएको बताएका छन् ।

‘देशले विभिन्न चुनौतीहरूको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौँ प्रतिकुलताका बावजुद नेपाली खेलकुद इतिहासमै ठूलो सफलता दिलाएकी छन् । यसले नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौँ’, उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि बढाई तथा शुभकामना !’


ताजा समाचार