‘प्रचण्ड’ को बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

रातोपाटीका अनुसार बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । यद्यपी कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको छैन।

त्यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो।

उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो। स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ।


ताजा समाचार