‘छक्कापञ्जा ५’ र कमेडी च्याम्पियनबीच ‘रोस्टिङ ब्याटल’ हुने

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का कलाकारले एउटै मञ्चमा उभिएर हास्य व्यंग्य प्रस्तुति दिने भएका छन् । एकअर्काको समूहलाई पालैपालो रोस्ट समेत गर्नेछन् ।

यो कार्यक्रमलाई नाम दिइएको छ- रोस्टिङ ब्याटल ।

असोज २० गते राष्ट्रिय नाचघर जमलमा ‘कटाक्ष प्रतिस्पर्धा’ हुनेछ । यसलाई अहिलेसम्मकै ठूलो रोस्टिङ ब्याटल भनिएको छ । कमेडी च्याम्पियनले आयोजना गर्ने यो कार्यक्रमको उद्देश्य दशैंको फूलपातीमा रिलिज हुने ‘छक्कापञ्जा ५’ को प्रवर्द्धनमा सघाउनु हो ।

ब्याटलमा ‘छक्कापञ्जा’ को पाँचौं श्रृंखलाका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा सिवाकोटी हुनेछन्। कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, कैलाश कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, प्रभात लामा, सुनिल खड्का र ऋषभ काफ्ले पनि हुनेछन् ।

कार्यक्रमबारे कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, ‘नेपालमा अहिलेसम्म नभएको तर बाहिर लोकप्रिय रहेको रोस्टिङ ब्याटल गर्ने प्रस्तावलाई उहाँहरूले स्वीकार्नु भएपछि कार्यक्रम हुन लागेको हो ।’

यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा हुनेछ । ओएसआरको युट्युब च्यानलमा लाइभ स्ट्रिमिङ हुनेछ ।


ताजा समाचार